काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको तलब भुक्तानीको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई खेलाडीको हस्ताक्षर सहितको पत्र पठाएको छ ।
क्यानले शुक्रबार आईसीसीलाई विभिन्न श्रेणीमा रहेका खेलाडीको हस्ताक्षरसहितको पत्र पठाएको हो ।
नेपाली राष्ट्रिय टिमका खेलाडीले लामो समयबाट तलब पाउन सकेका छैनन् । खेलाडीले सन् २०१९ देखि आफ्नो तलब पाएका छैनन् ।
'खेलाडीको तलब भुक्तानीको लागि आईसीसीलाई खेलाडीको हस्ताक्षर सहितको पत्र पठाएका छौं ।' क्यानका कोषाध्यक्ष रोशन सिंहले भने, 'करिब १५ खेलाडीले सूचीमा हस्ताक्षर गरेका छन् ।'
क्यानले काठमाडौं रहेका विभिन्न श्रेणीका १५ खेलाडीलाई हस्ताक्षर गराएको थियो । काठमाडौं बाहिर रहेका खेलाडीले भने हस्ताक्षर गरेका छैनन् ।
आईसीसीले यसै साता खेलाडीको तलब भुक्तानीको लागि दुई हप्ता भित्र खेलाडीको हस्ताक्षर पठाउन क्यानलाई आग्रह गरेको थियो । जसअनुसार क्यानले खेलाडीको हस्ताक्षरसहितको पत्र आईसीसीलाई पठाएको हो ।
कोषाध्यक्ष सिंहका अनुसार खेलाडीले केही दिनमा तलब पाउने सम्भावना रहेको छ ।
क्यान निलम्बनमा रहेको बेला आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कप्तान पारस खड्कासँगको छलफलमा खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।
तर, क्यानले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छैन । क्यानले चाडै नयाँ वर्गीकरणसहित सूची निकाल्ने जनाएको छ ।
पुरानो वर्गीकरण अनुसार 'ए' श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।
'बी' श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका छन् ।
'सी' श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् ।
'ए' श्रेणीमा रहेका खेलाडीले मासिक ३५ हजार, 'बी' श्रेणीमा रहेका खेलाडीले मासिक २५ हजार र 'सी' श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउने छन् ।