काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्य तथ्य पेश गर्न ७ दिने पत्र काटेको छ ।
राखेपले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई पत्र लेख्दै ७ दिनभित्र संघभित्र भएका आर्थिक अनियमितताका विवरण परिषद्मा पेश गर्न निर्देशन दिएको हो ।
संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए ।
उनीहरुले संघभित्रको आर्थिक अनियमितताको छानविन गरि दोषीउपर कारबाही गर्न माग गर्दै राखेपमा ५ बुँदे निवेदन दर्ता गरेका थिए ।
राखेपका संघ सस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पत्र लेख्दै सत्य तथ्य विवरण खुलाई ७ दिन भित्र राखेपमा पत्र पेश गर्न निर्देशन दिएका छन् ।
पछिल्लो समय बक्सिङ संघभित्रको विवाद उत्कर्षमा छ । संघका निर्वाचित कोषाध्यक्षलाई बाहिर राख्दै विधान विपरित सह–कोषाध्यक्षको हस्ताक्षर गराई अध्यक्ष अवालेले आर्थिक अनियमितता गरेको भन्दै महासचिव भट्टचार्य र कोषाध्यक्ष सुजखु बिरोधमा उत्रिएका छन् ।
संघको पछिल्लो बैठकमा महासचिव भट्टचार्यले आफुमाथि अध्यक्ष सहित केही पदाधिकारीले आफुमाथि दुव्र्यवहार गरेको भन्दै विरोध गरेका थिए ।
महासचिव भट्टचार्यले संघका अध्यक्ष अवाले एकलौटी र तानाशाही ढंगले चल्न खोजेको भन्दै नेतृत्वको विरोध गर्दै आएका छन् ।
कार्यसमिति बैठकमै आफुमाथि दुव्र्यवहार भएपछि महासचिव भट्टचार्य र कोषाध्यक्ष सुजखुले राखेप सदस्य सचिवलाई पत्र लेख्दै संघभित्रका बिषय अनुसन्धानका लागि आग्रह गरेका थिए ।
निवेदन पत्र निम्न प्रकारको रहेको छ ।