काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परिक्षण भोलि (सोमबार) सुरु हुने भएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण सोमबारबाट सुरु हुने भएको हो ।
एन्फाका एक पदाधिकारीका अनुसार सोमबारबाट खेलाडीको कोरोना परिक्षण सुरु गरिने खेलपाटीलाई जानकारी दिएका छन् ।
ती अधिकारीका अनुसार परिक्षण सुरु गरेर दुई दिनभित्र सबै खेलाडी, अफिसियल र स्टाफको पीसीआर जाँच सक्ने लक्ष्य राखिएको छ ।
‘दुई दिनभित्र सबै जनाको परिक्षण सक्ने लक्ष्य छ । सुरुमा होस्टेलमा रहने स्टाफहरुको परिक्षण गरिनेछ ।’ उनले भने ।
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
विश्वकप छनोटको दोस्रो चरणको तयारीका लागि एन्फाले खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा बोलाएको हो ।
नेपालले घरेलु मैदानमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्दैछ । सोही खेलका लागि एन्फाले तयारी अघि बढाउन लागेको हो ।
सरकारले समेत अन्तराष्ट्रिय प्रतियोगिताको तयारी गर्न अनुमती प्रदान गरेको छ । सोही अनुसार एन्फाले खेलाडीको प्रशिक्षण कार्यक्रमलाई अघि बढाएको हो ।
एन्फाले सबै खेलाडीलाई ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा रहेको होस्टेलमा राखेर प्रशिक्षण गराउनेछ ।
खेलाडी राख्नका लागि एन्फाले होस्टेल निर्मलीकरणको काम सकेको छ । होस्टेल सफा गरेर किटाणु रहित बनाउने काम सकिएसंगै एन्फाले खेलाडीको पीसीआर जाँचको प्रक्रिया अघि बढाएको हो । परिक्षणको रिपोर्ट आएसंगै खेलाडीहरुलाई होस्टेलमा राखिनेछ ।
यसअघि होस्टेललाई ललितपुर महानगरपालिकाले कोरोनाको क्वारेन्टिनको रुपमा प्रयोग गरेको थियो ।
एन्फाले १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ ।
अभ्यासको दौरान खेलाडीले पालना गर्नुपर्ने १७ बुँदे ‘प्रोट्रोकल’ समेत एन्फाले बनाएको छ ।