काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कोरोना भाईरसको प्रतिकुलताको बाबजुत राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ ।
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
विश्वकप छनोटको दोस्रो चरणको तयारी स्वरुप एन्फाले भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्दैछ ।
एन्फाले सबै खेलाडीको कोरोनाको परिक्षण गरेर सातदोबाटोस्थित एन्फा होस्टेलमा खेलाडीलाई राखेर प्रशिक्षण अघि बढाउने तयारी गरेकाे छ ।
राष्ट्रिय टिममा बोलाईएका अधिकांश खेलाडी उपत्यकामा जम्मा भईसकेका छन् । एन्फाले खेलाडी राख्ने होस्टेललाई निर्मलीकरण गरेर खेलाडीको कारोना जाँच गर्ने तयारी छ ।
खेलाडीको परिक्षण लगत्तै उनीहरुलाई होस्टेलमा लगेर राखिनेछ । प्रशिक्षणका क्रममा खेलाडीले अपनाउनुपर्ने नियमका बिषयमा एन्फाले १७ बुँदे प्रोट्रोकल समेत तयार पारिसकेको छ ।
'सरकारले अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि अनुमती प्रदान गरेको छ । सोही अनुसार प्रशिक्षण अघि बढ्छ ।' एन्फाका एक पदाधिकारीले खेलपाटीसंग भने ।
कोरोनाका कारण अवस्था प्रतिकुल बनेपनि जोखिम रहित तरिकाले खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने ती पदाधिकारीले बताए ।
एन्फाले खेलाडीलाई समूहमा विभाजन गरेर प्रशिक्षण गराउने तयारी गरेको छ । कम्तिमा १० देखि १२ जनाको समूहमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराईनेछ ।
कोरोना संक्रमण फैलन नदिन उच्च शतर्कता अपनाएर खेलाडीको अभ्यास सुरु गरिने एन्फाले बताएको छ ।
सातदोबाटोस्थित एन्फा होस्टेलको निर्मलीकरणको काम सम्पन्न नभएका कारण खेलाडीको कोरोना परिक्षण अघि बढ्न सकेको छैन ।
टिम म्यानेजर मधुशुदन उपाध्यायले कोरोना परिक्षणको समय केही ढिला भएपनि प्रशिक्षण भने निर्धारित मितिमै हुने जानकारी दिएका छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण भदौ १ गतेबाटै सुरु हुनेछ ।
अवस्था प्रतिकुल बन्दै गएपछि नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रद्ध गरिसकेको छ ।