एजेन्सी । पूर्व विश्व नम्बर एक बेलायती खेलाडी एन्डी मर्रेले आफु युएस ओपन टेनिस खेल्नका लागि तयारी गरिरहेको बताएका छन् ।
कोरोना भाईरसको महामारी बाबजुत प्रतियोगिता खेल्नेबारे आफु मानसिक रुपमा योजना बनाईरहेको मुर्रेले बताएका हुन् ।
हिप इन्जुरीको शल्यक्रियापछि मर्रेले डबल्स प्रतिस्पर्धा मात्र गर्दै आइरहेका छन् । तर, उनी युएस ओपनबाट एकल प्रतिस्पर्धामा फर्कन चाहन्छन् ।
'चार वा पाँच हप्ता अघि, हामी यसबारे धेरै सशंकित थियौं,' मर्रेले भने, 'तर, मानसिक रूपमा तपाईले यसको लागि तयारी र योजना बनाउनु पर्छ । मानसिक रूपमा म यसको लागि अगाडि बढ्ने योजना बनाउँदैछु ।'
अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ । तर, दर्शक विहीन खेलाईने युएस ओपनका लागि खेलाडी आगमनमा समस्या हुने देखिएको छ ।
अमेरिका पुगेपछि खेलाडी क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । फ्रेन्च ओपनमा लागि युरोप आउँदा समेत खेलाडीले क्वारेन्टिन बस्नुपर्ने बाध्यता रहेको छ ।
यस्तै कोरोनाको कारण विश्वभर सर्वाधिक प्रभावित राष्ट्र अमेरिका हो ।
'हाम्रो लागि मुख्य मुद्दा भनेको यात्रा हो । त्यसैले हामी त्यहाँ पुग्न अलि चिन्तित हुनेछौं,' मर्रेले थपे, 'आशा छ कि युएस ओपन अगाडी बढ्छ र यो ठीक छ भने म पनि ठीक छु । यदी खेलाडीहरूको लागि सुरक्षित छ भने हामीले प्रयास गर्नु पर्छ ।'