काठमाडौं । कराँते, एसियाडमा नेपालले पदकको आश गरेको खेल हो ।
टिम इभेन्ट्स र अन्य खेलमा नेपालले पदकको आश गरेको थिएन, त्यसको सम्भावना समेत थिएन । तर, व्यक्तिगत स्पर्धामा कराँते, बक्सिङ र तेक्वान्दोबाट नेपालले कम्तिमा केही रजत वा काँस्यको आश गरेको थियो ।
तर,दुर्भाग्य नेपालले यि सबै खेलमा पदक विहिन हुने अवस्थामा पुगेको छ । अर्थात पदकको आश गरिएका सबै खेलमा नेपालको सम्भावना लगभग सकिएको छ ।
कराँतेमा समेत सहभागि ८ खेलाडी मध्य तीन जना काँस्य पदकका लागि भिडेका थिए । तर, सबै पराजित भए । खेलाडीमा एक प्रकारको दबाब देखियो । सागमा पदक जितेकै खेलाडीले आफुलाई समाल्न सकेनन् ।
अन्तिम ९ सेकेन्ड होल्ड गर्न नसक्दा अनु अधिकारी पदकबाट बञ्चित बनिन् । यस्तै अवस्था अरु खेलाडीले समेत भोगे । आखिर पदकको दाबेदार मानिएको कराँतेमा नेपाल कहाँ चुक्यो ?
यसको उत्तर स्वयम कराँते प्रशिक्षक दिपक श्रेष्ठले दिएका छन् । जो नेपाली टिमको प्रशिक्षकको रुपमा इन्डोनेशियामा रहेका छन् ।
कराँतेमा पदकको सम्भावना सकिएपछि सञ्चारकर्मीलाई प्रशिक्षक श्रेष्ठले दिएको अन्तरवार्ताको सम्पादित अंश :
‘अन्तराष्ट्रिय ‘एक्सपोजर’ को कमि देखियो । एसियन गेम्सको तयारी गर्ने बेलामा अन्तराष्ट्रिय एक्सपोजरलाई एकदम मध्यनगर राख्न पर्छ । हामीले समेत जापानमा आएर लामो समय अभ्यास गर्यो । तर,अन्तराष्ट्रिय खेलाडीसंग भिड्न पाएनौ ।
अभ्यास भनेको पढाई हो । एक्सपोजर परिक्षा । लामो समय तयारी गर्ने तर अन्तराष्ट्रिय ‘एक्सपोजर’ नहुदाँ बिग्रदो रहेछ । हामीले त्यही ‘एक्सपोजर’ पाएनौ । त्यही नभएर हार्यो । पछिल्ला तीन महिनादेखि व्यक्तिगत रुपमा फाईट खेलेका छैनौ । आफै आफै खेलेर नहुने रैछ ।
अब पनि खेलाडीलाई अन्तराष्ट्रिय रुपमा अनुभव दिन सकेनौ भने सागमा समेत पदक आउन गाह्रो छ । अझ भनौ पदकनै आउदैन । अन्तराष्ट्रिय एक्सपोजर नहुने भए खेल छाडे हुन्छ ।
खेलाडीलाई अन्तराष्ट्रिय ‘एक्सपोजर’ दिने बजेटनै छैन । खेल सामाग्री, भत्ता अन्य सामाग्रीमा बजेट छुट्याएको हुन्छ । तुर मुख्य कुरा खेलाडी एक्सपोजरमा बजेटनै हुदैन ।
ओलम्पिकपछि हामी अब सागमा केन्द्रित हुदैछौ । अरु ओलम्पिक केन्द्रित हुदाँ हामी घरेलु विवादमै रुमलिएर बस्यौ । प्रतियोगिताको तयारीका सन्दर्भमा बजेटनै मुख्य कुरा हो । अब पनि खेलाडीको तयारी र एक्सपोजरमा लगानी नगर्ने हो भने १३ औ साग पनि खासै उपलब्धी मुलक हुदैन ।’