‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’
काठमाडौं। नेपाल फुटबल खेलाडी संघले एक साताभित्र अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग गर्नुपर्ने चेतावनी दिएको छ।
संघका अध्यक्ष बिक्रम लामाले साधारण सभाले तोकेको मिति आफूखुसी बदल्न एन्फाको कुनै समूहलाई अधिकार नरहेको बताए। गत जेठमा काभ्रेको धुलिखेलमा सम्पन्न साधारण सभाले लिग आगामी पुस ९ गतेदेखि सुरु गर्ने निर्णय गर्दै बजेटसम्म पारित गरेको थियो। तर, गत सोमबार एन्फाले १४ क्लबसँग बैठक बस्दै उक्त मितिमा राष्ट्रिय लिग गर्ने र ‘ए’ डिभिजन लिग अर्को वर्ष पुसमा गर्ने सहमति गरेको थियो।
‘खेलाडीको खेल्ने आधारभूत अधिकार पनि हो। हामीले दिएको अल्टिमेटमको अब ६ दिन बाँकी रहेको छ। हामी एन्फा नेतृत्वलाई पुन: एकपटक आग्रह गर्न चाहन्छौं, चाँडोभन्दा चाँडो क्लब र एन्फाको समन्वय गरेर लिगको तयारी थालियोस्,’ उनले भने।
संघले बिहीबार लिग तोकिएकै मितिमा आयोजना गर्न दबाब दिँदै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर शान्तिपूर्ण प्रदर्शन गरेको थियो। तर, उनीहरूले विरोध प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ ‘फिफा फर स्कुल’ कार्यक्रममा गएका थिए। महासचिव किरण राई भने एन्फा प्रेसिडेन्ट लिगमा सहभागी हुन हेटौँडा पुगेका थिए।
खेलाडीले एन्फाको प्रांगणमा विरोध प्रदर्शन गर्ने प्रयास गरेका थिए। तर, मुख्य गेट नै ताला लगाएपछि राष्ट्रिय टिमको क्यापमा रहेका अञ्जन विष्ट र रोहितचन्दलगायतका खेलाडीसमेत भित्र पस्न पाएका थिएनन्। लगत्तै बिक्रमले एक सातभित्र आफ्ना मुद्दाबारे एन्फाले ठोस कदम नचाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए। साधारण सभाले तोकेको मितिमा खेलाडीहरू खेल्न तयार रहेको उनले बताएका छन्।
‘क्लब र एन्फाबाट पनि सोहि होस् भन्ने चाहन्छौं। हामी चाहन्छौं हाम्रो सडक संघर्ष यतिमै सीमित रहोस्। खेलाडीले खेल्ने मैदानमा नै हो। हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन,’ उनले भनेका छन्।












