एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

काठमाडौं। गत वर्ष नोभेम्बरमा इजरायलविरुद्धको खेलपछि फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे राष्ट्रिय टोलीमा थिएनन्। ठीक एक वर्षपछि अनुभवी यी मिडफिल्डरलाई फ्रान्सले राष्ट्रिय टोलीमा पुनः बोलाएको छ।
आगामी नोभेम्बर १३ मा युक्रेन र १६ मा अजरबैजानविरुद्ध विश्वकप छनोटका खेल खेल्ने तयारीमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले उनलाई पनि समेटेका छन्।
चेल्सी छोडेर सन् २०२३ देखि साउदी प्रो लिगको क्लब अल–इत्तिहादका लागि खेलिरहेका कान्टे अहिले पनि उत्कृष्ट लयमा छन्। ३४ वर्ष उमेर पुगिसके पनि विश्वकप विजेता यी स्टार अझै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
कान्टेलाई टोलीमा बोलाउनेबारे प्रशिक्षक डेसच्याम्पले भने,‘उनी अहिले आफ्नो उत्कृष्ट लयमा छन्। उनलाई टोलीमा समावेश गर्नका लागि मात्र होइन, महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने अपेक्षासहित बोलाएको हुँ।’
युरोपेली विश्वकप छनोटको समूह ‘डी’ मा चार खेलमा १० अंकसहित फ्रान्स शीर्ष स्थानमा रछ। सात अंकसहित युक्रेन दोस्रो स्थानमा छ। युक्रेनलाई पराजित गर्न सके फ्रान्सले सन् १९९८ र २०१८ मा जस्तै २०२६ विश्वकपको टिकट पक्का गर्नेछ।











