एजेन्सी । कोरोना भाईरसको महामारीका कारण अनिश्चित बनेको फ्रेन्च ओपन टेनिस प्रतियोगिता दर्शक सहित सुरु हुने भएको छ । प्रतियोगिता दर्शक सहितको स्टेडियममा हुने तय भएको हो । फ्रेन्च ओपनका लागि चाँडै टिकट बिक्री समेत खोल्ने आयोजकले तयारी गरेको छ ।
कोरोना महामारीका कारण फ्रेन्च ओपन स्थगित गरिएको थियो । फ्रान्समा कोरोनाको प्रभाव कम हुदै गएपछि प्रतियोगिता सेप्टेम्बरमा दर्शक सहित आयोजना गरिने भएको छ ।
फ्रेन्च टेनिस महासंघ (एफएफटी)ले ट्वीट गर्दै जुलाई १६ बाट दर्शकका लागि टिकट बिक्री सुरु गरिने जनाएको छ । प्रतियोगिता सेप्टेम्बर २७ देखि अक्टोबर ११ सम्म सञ्चालन गरिने तय भएको छ । आयोजक एफएफटीले प्रतियोगिताको बारेमा विस्तृत विवरण दिएको छैन ।
फ्रेन्च ओपन मे २४ मा आयोजना गर्ने पूर्व तालिका रहेको थियो । तर कोरोना महामारीका कारण सेप्टेम्बर २० सम्म प्रतियोगिता स्थगित गरिएको थियो । दर्शकको स्वास्थ्य सुरक्षाका लागि एफएफटीले सुरक्षा नियमको तयारी गरेको छ ।
फ्रेन्च ओपनको फाईनल खेलमा करिब १० हजार दर्शक आउने सक्ने आयोजकले बताएको छ । कोरोनाको अवस्थालाई हेरेर फाईनलमा दर्शक क्षमता बढाउन सकिने उसको दाबी छ । यस्तै, एफएफटीले प्रत्येक दिन २० हजार दर्शकलाई खेल हेर्न अनुमती प्रदान गरिने जनाएको छ ।
स्टेडियम भित्र दर्शकको संख्या सामान्य क्षमताका आधारमा ५० देखि ६० प्रतिशतसम्म हुन्छ । यसबाट हामीले दर्शक सुरक्षाको सुनिश्चित गर्न सक्छौ । एफएफटीले भनेको छ ।