काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको आपतकालिन बैठक आज (मंगलबार) बस्दैछ ।
सोमबारको आपतकालिन समितिको बैठक स्थगित भएसंगै एन्फाले मंगलबारनै कार्यसमितिको आपतकालिन बैठक बोलाएको हो ।
ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजे सुरु हुनेछ ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले कार्यसमिति बैठकका लागि कुनैपनि एजेण्डमा उल्लेख नगरिएको बताए ।
'आपतकालिन बैठकमा एजेण्डा पठाउने हुदैन । अध्यक्षले जे प्रस्ताव गर्नुभयो, सोही बिषयमा छलफल हुनेछ ।' तुलाधरले खेलपाटीसंग भने ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन समितिको बैठक स्थगित गरिएको थियो ।
नेम्बाङ्ग स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित भएका थिए ।
कुनै एक सदस्य अनुपस्थित रहेपछि आपतकालिन बैठकको निर्णय लागु नहुने एन्फा विधानमा व्यवस्था छ ।
एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो ।