काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नयाँ आर्थिक बर्षका लागि विनियोजित बजेटले खेलकुद क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् ।
सरकारले नयाँ आर्थिक बर्षकालागि संसदमा पेश गरेको बजेट नीति तथा कार्यक्रमकै निरन्तरता रहेको मन्त्री विश्वकर्माको भनाई छ ।
अर्थमन्त्री युवराज खतिवडाले बिहिबार संघीय संसदको संयुक्त बैठकमा नयाँ आर्थिक बर्षको बजेट पेश गरेका थिए । उनले युवा तथा खेलकुद मन्त्रालको बजेट घटाउँदै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेका थिए ।
‘प्रतिकुल परिस्थितीमा सरकारले अघि सारेको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने हिसाबले बजेट आएको छ ।’ संसद भवनबाट बाहिरिने क्रममा खेलपाटीसंग मन्त्री विश्वकर्माले भने ।
उनले प्रतिकुल समयमा आएको बजेटले खेल क्षेत्रमा समेत चुनौती थपिएको बताए ।
‘कोरोनाको महामारीले विश्व सहित घरेलु अर्थतन्त्रलाई प्रभावित गरेको छ । हरेक क्षेत्रमा प्रतिकुलता छँदै छन् । मन्त्रालयले लिएका घोषित लक्ष्य उद्धेश्य हसिल गर्ने हिसाबले सबै शीर्षक समावेश हुने हिसाबले बजेटले सम्बोधन गरेको छ ।’ उनले भने ।
सरकारले अन्तराष्ट्रिय खेलकुद पुर्वाधारदेखि स्थानीय, प्रादेशिक र राष्ट्रिय खेलकुद आयोजना हुने गण्डकी र कर्णाली प्रदेशको खेल पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको बताएको छ ।
मन्त्री विश्वकर्माले मन्त्रालयले तय गरेका कार्यक्रम अघि बढाउन बजेटले आधार तय गरेको बताए ।
‘प्रतिकुलता सहज बनेपछि तय गरिएका कार्यक्रम स्रोत साधन परिचालन गरेर काम गर्ने ढोका बजेटले खोलेको छ । यसले आधार तयार गरेको छ ।’ विश्वकर्माले भने ।