काठमाडौं । सरकारले नयाँ आर्थिक बर्षको आय र ब्ययको बर्षिक अनुमान (बजेट) बिहिबार संघीय संसदमा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्य सुचि रहेको संसद सचिवालयका महासचिव भरतराज गौतमले बताएका छन् ।
कोरोना भाईरसको महामारीको विश्वव्यापी प्रभावका कारण सरकारले यसपटक अघिल्लो आर्थिक बर्षको भन्दा कम आकारको बजेट संसदमा पेश गर्ने तयारी गरेको छ ।
सोही अनुसार राष्ट्रिय योजना आयोगले सबै मन्त्रालयलाई अघिल्लो बर्षभन्दा कम सिलिङ निर्धारण गर्दै बजेट प्रस्ताव पेश गर्न निर्देशन दिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले समेत जम्मा १ अर्ब ६३ करोडको बजेट सिलिङ प्राप्त गरेको थियो । जो अघिल्लो आर्थिक बर्षभन्दा झण्डै एक तिहाई कम हो ।
कोरोनाको प्रभाव लामो समय जाने देखिएसंगै सरकारले दिएको सिलिङमा १५ प्रतिशत रकम कम गर्न सबै मन्त्रालयलाई परिपत्र जारी गरेको थियो ।
त्यसैले नयाँ आर्थिक बर्षमा खेलकुदको बजेट समेत घट्ने मन्त्रालयका सम्बद्ध अधिकारीहरु बताउँछन् । तर बजेट निर्माणको अन्तिम समयसम्म मन्त्रालयका अधिकारी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कम्तिमा खेलकुदको बजेट नघटाउन लबिङ गरिरहेका थिए ।
गत बर्ष आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा प्राप्त उपलब्धिलाई लक्षित गर्दै बजेटको आकार कम्तिमा घट्न नहुने मन्त्रालय र राखेपको जोड छ ।
सरकारले यसअघिनै उच्च पर्वतीय खेलकुद केन्द्र स्थापना सहित खेलकुद पुर्वाधार निर्माण बजेटको प्रथामिकतामा पर्ने घोषणा गरिसकेको छ ।