काठमाडौं । एन्फाका लागि नयाँ अनुहार भएपनि फुटबलसंग मेरो सम्बन्ध पुरानै हो । फुटबलको केन्द्रिय स्तरमा बसेर काम गरेको नरेन्द्र श्रेष्ठको पालामा हो । त्यो समय प्रतियोगिता समितिको सह–संयोजकको जिम्मेवारी पाएको थिए । केन्द्रसंग जोडिएर जिम्मेवारीका साथ काम गरेको ४ बर्ष पुगेको छ । नरेन्द्र दाई (श्रेष्ठ)कै पालामा एन्फा छिरेको थिए । उहाँसंगै बसेर काम गरेको हुँ।
दुई बर्षअघि कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा शुद्धिकरणको अभियानबाट म पनि प्रभावित भए । उहाँहरुसंग जोडिए । फुटबल परिवर्तनको नाराबाट प्रभावित भएर सम्पर्कमा पुगे । सबैलाई थाहा छ, नेपाली फुटबल २० बर्षदेखि एउटै नेतृत्वबाट चल्दै आएको थियो । फुटबलले परिवर्तन खोजेको जस्तो देखिन्थ्यो । जसले मलाई पनि प्रभावित बनाएको थियो । कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा जे नारा दिनुभयो, त्यसैमा हाम्रो सहयोग, समर्थन हो । नेतृत्वको हिसाबले कर्मा दाईले परिवर्तनका एजेण्डलाई संस्थागत गर्न सक्नुहुन्छ भन्ने विश्वास हो ।
एन्फा निर्वाचनको समेत दुई बर्ष पुरा भएको छ । म समेत केन्द्रिय सदस्यको जिम्मेवारीमा छु । सुरुवाती दुई बर्ष सन्तोषजनक काम भयो भन्ने लाग्छ । नेपाली फुटबल आवश्यक ट्रयाकमा नभएकाे जस्ताे देखिन्थ्याे । त्यसलाई सहि बाटोमा ल्याउन समय लाग्ने देखिएको छ । नेतृत्वको हिसाबले केही अलमल देखिन्छ ।
एन्फा नेतृत्वमा नयाँ अनुहार आएपनि धेरै योजनाहरु बाँकी थिए । नरेन्द्र (श्रेष्ठ)दाईको पालामा पारित भएका योजनाहरु सक्नुपर्ने चुनौती थिए । एन्फामा पैसाको अभाव थियो । विदेशी अनुदान बाहेक दशरथ रंगशालाको ‘गेट–मनी’ एन्फाको आयस्रोत हो । तर रंगशाला नहुँदा राष्ट्रिय–अन्तराष्ट्रिय प्रतियोगिता खेल्न र खेलाउन सकिएन । सुरुवाती बर्षमा नेतृत्वले आर्थिक चुनौतीनै धेरै ब्यहोर्यो । जे जति चुनौती थिए, सुरुवाती दुई बर्षमा भएका गतिविधि र प्राप्त उपलब्धि सन्तोषजनकै मान्नुपर्छ ।
एन्फाभित्र केही कमी कमजोरी र त्रुटी भएका हुनसक्छन्, त्यसलाई नेतृत्वले सुधार गर्दै अघि बढ्नुपर्ने हुन्छ । परिवर्तनका एजेण्डासंग बाँझिने कतिपय बिषय र व्यक्ति त्याग गरेर अघि बढ्नुपर्ने अवस्था छ । प्रशिक्षित नभएका र नपुगेका व्यक्तिलाई अझ सुधार गर्नुपर्ने छ । सबै ब्यक्तिलाई क्षमता अनुसारको जिम्मेवारी दिएर अघि बढ्नुनै नेतृत्वको मुख्य चुनौती देख्छु ।
संस्थागत सुधार र पारदर्शीताका लागि आर्थिक नियमावली बनेका छन्, कर्मचारी नियमावली बनेका छन् । त्यसलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।
गतिविधिका हिसाबले धेरै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता पछिल्ला दुई बर्षमा आयोजना तथा सञ्चालन भएका छन् । महिला र पुरुष टिमले आफुभन्दा माथिल्लो स्तरका टिमसंग राम्रो नतिजा ल्याएका छन् । चाईचिज ताईपे जस्तो टिमलाई उसकै घरेलु भुमीमा हराउने नतिजा होस वा विश्वकप छनोटमा अष्ट्रेलिया जस्तो बलिया टिमसंगको प्रर्दशन, मैदानभित्र समेत विस्तारै परिवर्तनको संकेत देखिन थालेको छ ।
खेलाडी उत्पादनको मुख्य केन्द्र एन्फा एकेडेमीका काम निकै अघि बढेका छन् । पाँच बर्षदेखि बन्द भएका बुटवल र धरानका एकेडेमी सञ्चालनमा आएका छन् । दुवै एकेडेमीमा करिब ५०-५० बच्चाहरुले प्रशिक्षण गर्न पाएका छन्, पढ्न पाएका छन् ।
रौतहटको महिला एकेडेमी तयार भएको छ । एकेडेमी निर्माणमा केही प्रक्रियागत त्रुटि देखिएको हुन सक्छ तर महिला फुटबल विकास गर्ने नियत सफा छ । केही समयमा महिला एकेडेमीको प्रशिक्षण सुरु हुदैछ ।
त्यसैले पुराना बिग्रिएका कुरालाई ट्रयाकमा लैजान अलिकति समय लागेको हो । नेतृत्वले देखिएका केही कमी–कमजोरीलाई सच्चाउँदै, आफ्नो निर्णय क्षमतालाई अझ परिस्कृत गर्दै सबैलाई मिलाएर लैजानुपर्छ भन्ने लाग्छ । केही कमिकमजोरीका बाबजुत सुरुवाती दुई बर्ष नेतृत्वले सबैलाई मिलाउन खोजेको देखिन्छ । सबैलाई जिम्मेवारी दिएरै अघि बढ्न खोजेको देखिन्छ । अब बाँकी दुई बर्ष आक्रमक रुपमा नतिजामा केन्द्रित भएर अघि बढ्न आवश्यक छ । परिवर्तनको नारालाई सार्थक बनाउन सबैलाई समेटेर अगाडी बढ्नुनै आजको आवश्यक हो । यसले लक्ष्य प्राप्तिका लागि राखेको उद्धेश्य पुरा गर्न सकिन्छ भन्ने लाग्छ ।
फुटबल मेरा लागि सानै उमेरदेखि चासो र रुचिको बिषय बन्यो । ५७ सालदेखि मैलेपनि फुटबल खेल्न सुरु गरको हुँ । मेरो खेलाडी करियर क्लब, जिल्ला, क्षेत्रीय स्तरभन्दा माथि बढ्न सकेन । सानै उमेरमा ब्यवसाय हाँक्ने जिम्मेवारी काँधमा आईलाग्यो । त्यसपछि खेलाडी करियर अघि बढाउन सकिन । रहर, सपना भएपनि फुटबल छाड्न पर्ने अवस्था बन्यो । तर ब्यवसायमा लागेपनि आफ्नो क्लब गठन गरेर फुटबलसंग जोडिनै रहे । फुटबल गतिविधिमा क्रियाशिलनै बने ।
ब्यवसायमा मेरो क्षेत्र अस्पताल र हाेटल सञ्चालन हाे । एन्फामा पहिलो पटक महिला राष्ट्रिय टिमका लागि फिजियोको व्यवस्थापन मैलेनै गरेको हुँ । एन्फासंग जोडिएपछि मेडिकल टिमसमेत दिन थाले । लिग चल्दा एम्बुलेन्स उपलब्ध गराउन थाले ।
नेपाली फुटबलसंग कुनै न कुनै रुपमा संलग्न हुने चाहना थियो । सधैनै सकेको योगदान दिन सकु भन्नेनै लाग्छ । फुटबलबाट कुनै अपेक्षा छैन, केही लिनु छैन, सिवाय सन्तुष्टि । अरु आफुले जानेको, सिकेको, सकेको दिन पाउँ भन्नेनै लाग्छ । यसले दिने आनन्दले गर्दा फुटबलसंग जोडिन आईपुगेको हुँ ।
एन्फामा आएपछि उमेर समुहका राष्ट्रिय टिमको व्यवस्थापक भएर काम गर्ने अवसर पाए । तीन पटक उमेर समुहको टिमको म्यानेजर भएर काम गरे । प्राप्त जिम्मेवारी ईमान्दारिताका साथ पुरा गरे भन्ने लाग्छ । गुनासो आउने गरेर कुनै काम गरिन, पाएको जिम्मेवारी ईमान्दारिताकासाथ पुरा गरे भन्ने लाग्छ ।
अध्यक्षको रुपमा कर्माछिरिङ शेर्पा एक्लैले गरेरमात्र नेपाली फुटबलको विकास हुदैन । उहाँले क्रान्तिकारी टिम बनाएर नेतृत्वमा आउनुभएको हो । ठुला सपना र नारा सहितनै एन्फाको वर्तमान कार्यसमिति बनेको हो । तर अध्यक्ष एक्लैले गरेर दुई बर्षमै भनेको जस्तो नतिजा आउँछ भन्ने हुदैन । त्यो न्यायसंगत पनि हुदैन कि भन्ने लाग्छ । बिग्रिएका चिजलाई ट्रयाकमा ल्याउन केही समय लाग्छ । समय लागेकै पनि हो । निर्वाचनबाट आएको टिमको व्यवस्थापनमै केही समय लाग्यो । तर सबै पदाधिकारीको व्यवस्थापन, परिचालनमा र जिम्मेवारी प्रदान गर्ने बिषयमा नेतृत्वले पुन गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।
नयाँ अनुहारको रुपमा मैले फुटबलको बिषयमा धेरै बोल्ने समय भएको छैन । तर नेपाली फुटबलमा देखिएको सबैभन्दा नराम्रो पक्ष भनेको आफु रहुन्जेल सबै ठिक, आफु नभएपछि सबै बेठिक भन्ने जुन संस्कृति छ, त्यो निकै हानिकारक छ । हिजोको दिनमा आफु हुँदा सबै राम्रो, आज नहुँदा सबै नराम्रो भन्ने हुदैन जस्तो लाग्छ ।
पछिल्लो समय एन्फाभित्र आन्तरिक द्धन्द जस्तो देखिन पुगेको छ । नेतृत्व तहमा केही असमझदारी भएको हो कि जस्तो देखिन्छ । तर उहाँहरु बीच कित्ता काँट भएर जाने अवस्था छैन, हुनु हुँदैन । उहाँहरुले तय गरेको बाटोमै नेपाली फुटबल हिडिरहेको छ । उहाँहरुबाट नेपाली फुटबलले ठुलो अपेक्षा गरेको छ । सबै मिलेर नेपाली फुटबललाई हाँक्नु पर्छ । नेतृत्व तहमा देखिएको असमझदारीले नेपाली फुटबललाई राम्रो गर्दैन । अलग अलग भएर फुटबलले गति लिदैन । फुटबल लयमा जान सकदैन । नेतृत्वले असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नुपर्छ भन्ने लाग्छ । मिलेर अघि बढ्दा सबै पक्षलाई फाईदा पुग्छ ।
अन्तिममा, एन्फाभित्र फरक पृष्ठभूमी, फरक राजनीतिक विचार र दर्शनबाट प्रेरित मानिसहरु हुन सक्छन् । तर फुटबल परिवर्तनको अभियानमा हाम्रो एजेण्डा र नेतृत्वमा कुनै विमती छैन । यदी विचलित हुन खोज्यौ भने ईतिहासले कसैलाई माफ गर्नेछैन ।