एजेन्सी । प्रिमियर लिग क्लब बर्नेमाउथका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । प्रिमियर लिग क्लबको अन्तिम चरणको परिक्षणमा बर्नेमाउथका एक खेलाडीमा संक्रमण देखिएको हो ।
कोरोना परिक्षणको क्रममा प्रिमियर लिग क्लबका ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
क्लबले खेलाडीको परिचय खुलाएको छैन । तर खेलाडीलाई ७ दिनको एकान्तवासमा पठाएको बताईएको छ ।
परिक्षणमा अर्का एक जनामा समेत संक्रमण देखिएको छ । तर उनको परिचय र क्लबको पहिचान खुलाईएको छैन ।
परिक्षण गत हप्ताको मंगलबार, बिहिबार र शुक्रबार गरिएको थियो ।
प्रिमियर लिगका ९ सय ९६ जना खेलाडी तथा स्टाफको परिक्षण गरिएको हो ।
च्याम्पियनसिप क्लबमा हल सिटीका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । दोस्रो डिभिजनका क्लबका १ हजार १४ जनाको कोरोना परिक्षण गरिएको थियो ।
प्रिमियर लिगतर्फ पहिलो चरणको परिक्षणको नतिजा मे १९ मा घोषणा गरिएको थियो । जसमा तीन क्लबका ६ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।
त्यो समयसम्म खेलाडी र स्टाफ गरि ७ सय ४८ जनाको परिक्षण गरिएको थियो । जसमा एक जना वाटफार्डको डिफेन्डर र वर्नलीका सहायक प्रशिक्षकको नाम मात्र खुलाईएको थियो ।
मार्च १३ बाट अबरुद्ध बनेको प्रिमियर लिगमा खेलाडीहरु ब्यक्तिगत अभ्यासमा फर्किएका छन् । प्रिमियर लिगमा अझै ९२ वटा खेल बाँकीनै छ ।
प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार बोल्दै बाँकी खेल सञ्चालन गर्न आफुहरु तयार रहेको बताएका थिए ।
युरोपको शीर्ष डिभिजन मध्यको एक बुन्डेसलिगा सुरु भईसकेको छ भने स्पेनिस लिग समेत बन्द रंगशालामा जुन ८ बाट सुरु हुदैछ ।