काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन (टेक्निकल रिपोर्ट)मा त्रुटि देखिएको छ ।
शीर्ष डिभिजनको लिग फुटबलका प्राविधिक पक्ष समावेश गर्दै फुटबल संघले सार्वजनिक गरेको प्रतिवेदनमा एन्फा कप्लेक्सका बिषयमा राखिएको जानकारीमा त्रुटी देखिएको हो ।
प्रतिवेदनमा ललितपुरको सातदोबोटास्थित एन्फा कम्प्लेक्स फिफाको गोल प्राजेक्टबाट बनेको उल्लेख गरिएको छ । एन्फाले केन्द्रिय कार्यालय सहित होस्टेल, मैदान, प्यारापिट लगायतका संरचना फिफाको लगानीमा बनेको बताएको छ ।
एन्फाको सार्वजनिक गरेको प्रतिवेदनमाथि पूर्व अध्यक्ष गणेश थापाले भने आपत्ती जनाएका छन् । थापाले नेपालले आफ्नै स्रोत साधानबाट बनाएको पूर्वाधारलाई ईतिहासबाट मेट्न खोजेको भन्दै आपत्ती जनाएका हुन् ।
पूर्व अध्यक्ष थापालो दशरथ रंगशालामा आयोजना भएको विभिन्न प्रतियोगिताको दर्शकबाट उठेको रकमलाई सदुपयोग गर्दै केन्द्रिय कार्यालय, एन्फा होस्टेल, खेल मैदान र सानो प्यारापिट बनेको उल्लेख गर्दै प्रतिवेदनमा राखिएको गलत जानकारी सच्चाउन माग गरेका छन् ।
एन्फाले शनिबार लिगका सम्पूर्ण प्राविधिक पक्ष विश्लेषण गर्दै रिपोर्ट सार्वजनिक गरेको थियो । साथै रिपोर्टमा सम्पूर्ण ए डिभिजन क्लबका जानकारी सहित लिग अवधिको स्वास्थ्य, सुरक्षा, म्याच कमिसनरको रिपोर्ट समेत समावेश गरिएको थियो । एन्फाले फुटबल ईतिहासमा पहिलो पटक प्राविधिक रिपोर्ट सार्वजनीक गरेको दाबी गरेको छ ।
तर आफ्नै मुख्यालय निर्माणको पुरा जानकारी प्रतिवेदनमा समावेश गर्न नसक्दा पहिलो पटक सार्वजनिक प्रतिवेदन विवादीत बनेको हो ।
एन्फाले प्रतिवेदनमा पुरा जानकारी राख्ने बिषयमा आफ्नो त्रुटी भएको स्विकार गरेको छ । एन्फा प्रवक्ता किरण राईले लेख्ने क्रममा भाषा नपुगेकाले प्रतिवेदनमा गल्ती भएको स्विकार गरे ।
'सन् २००० पछि गोल प्राजेक्ट सुरु भएको हो । त्यसअघिनै कार्यालय भवन, होस्टेल र प्राकृतिक मैदान नेपालले बनाएको सत्य हो ।' उनले खेलपाटीसंग भने, 'प्रोजेक्ट सुरु भएपछि कृत्रिम मैदान बनाउने, प्यारापिट थप्ने र होस्टेलको दुई तल थप्ने काम भएको हो । गोल प्रोजेक्टबाट आधुनिक संरचना बनेको हो ।'
उनले एन्फाले आफ्नै स्रोतबाट मुख्य कार्यालय सहितका परियोजना सुरु भएको उल्लेख गर्दै गोल प्रोजेक्टबाट संरचनाले आधुनिक स्वरुप पाएको बताए ।
'प्रतिवेदनमा भएको त्रुटि नियत भन्दा पनि गल्ती हो । गलत भएको कुरालाई सच्चाउन समस्या छैन । अझ विस्तृतमा खोजी गरेर सच्चाउने कुरा गाह्रो छैन ।' उनले भने ।
'एन्फाले कसैको ईतिहासलाई गुमराहमा राख्ने कारण छैन । गल्ती भएको हुन सक्छ, सच्चाउन तयार छौ ।' प्रवक्ता राईले थपे ।