काठमाडौं । राष्ट्रिय खेलकुद विकास विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित गरि पठाईएको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतिनिधिबाट संशोधन सहित आएको विधेयकलाई स्विकार सहित पुन पारित गरियोस भनेर बैठकमा प्रस्ताव पेश गरेका थिए ।
सांसदहरुले प्रतिनिधिबाट संशोधन सहित आएको विधेयकलाई सर्वसम्मतले पारित गरेका हुन् ।
संघीय संसदका दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।
संघीय संरचना अनुसार सरकारले तयार गरेको विधेयकमा मन्त्रालयको भूमिका र अधिकारलाई बढाईएको छ । सोही कारण विधेयक बहुप्रतिक्षित बनेको थियो ।
विधेयकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संरचनादेखि परिषद् सदस्य सचिवको नियुक्ती र अधिकारलाई संशोधन सहित परिभाषित गरेको छ ।
यस्तै, राष्ट्रिय खेलकुद संघमा राखेपका कर्मचारीलाई कुनैपनि जिम्मेवारीमा बस्न बर्जित गर्दै संघको मुख्य पदाधिकारीमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था विधेयकमा गरिएको छ ।