एजेन्सी । भारतको केन्द्र सरकारले कोरोना भाईरसका कारण जारी गरिएको लकडाउनलाई मे मसान्तसम्म बढाउने घोषणा गरेको छ ।
चौथो पटक थप गरिएको लकडाउनमा गृहमन्त्रालयले लकडाउनको नयाँ मोडालिटी भने तय गरेको छ ।
भारतीय गृह मन्त्रालयले सार्वजनीक गरेको नयाँ निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्ने अनुमती प्रदान गरिएको छ ।
मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार बिना दर्शक रंगशाला खोल्ने अनुमती प्रदान गरिएको हो ।
रंगशाला खोल्न अनुमती दिएसंगै ईन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका भारतका ठुलो खेल प्रतियोगिताको आयोजनालाई लिएर छलफल सुरु भएको छ ।
आईपीएललाई दर्शक बिना खेलाउन सकिने सम्भावनाका बिषयमा छलफल अघि बढेको हो ।
तर पछिल्लो समय जारी गरेको निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला केवल अभ्यासका लागि हो ।
आईपीएलको १३ औं संस्करण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले अनिश्चित समयका लागि स्थगित गरेको छ ।
बीसीसीआईले नयाँ तालिका बनाउने बिषयमा छलफल गरिरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । आईपीएल रद्ध भएको अवस्थामा करिब साढे ६ हजार करोड रुपैयाँ घाटा हुने बताईएको छ ।