एजेन्सी । कोरोना भाईरसको भ्याक्सिन नबनेसम्म नेदरल्याण्डमा खेलकुद प्रतियोगितामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ ।
नेदरल्याण्डका खेलकुद मन्त्री ह्युगो डी जोन्जीले कोरोनाको भ्याक्सिन नबनेसम्म देशको खेलकुद कार्यक्रममा दर्शकबिनै सञ्चालन गरिने बताएका हुन् ।
प्रधानमन्त्री मार्क रुटीले बुधबार सम्पूर्ण आयोजकलाई सेप्टेम्बर १ सम्म खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए ।
तर खेलकुद मन्त्री डी जोन्जीले भ्याक्सिन नबनेसम्म दर्शक जम्मा हुन निषेध गरिने बताएका हुन् ।
‘सामुहिक सभाका लागि तत्काल तारिख उल्लेख गर्न सकिदैन ।’ उनले डच सांसदलाई एक पत्रमा लेखेका छन् ।
‘जब भ्यासिन पत्ता लाग्छ, तब मात्र यो सम्भव छ । यसलाई कति समय लाग्छ भन्ने कसैलाई पनि थाहा छैन ।’ उनले भनेका छन् ।
‘हामी चाँडै होस भन्ने कामना गर्दछौ । तर एक बर्ष वा त्यो भन्दा अधिक समय लाग्न सक्छ ।’ उनले भनेका छन् ।
कोरोनाबाट नेदरल्याण्डमा ४१ हजार मानिस संक्रमित बनेका थिए । जसमा ५ हजार २ सय ८८ जनाले ज्यान गुमाएका थिए । कोरोनाकै कारण डच फुटबलको यस बर्षको सिजन रद्ध गरिएको थियो ।