काठमाडौं । एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो । नेपालले हालसम्म तेक्वान्दोमा १३ कास्य र १ रजत जितेको छ ।
एसियन गेम्समा नेपालले पाएको रजत पदक सबैभन्दा ठुलो पदक हो । जुन तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा जितेकी थिइन् ।
एसियन गेम्समा नेपालबाट दुई पदक जित्ने खेलाडी तेक्वान्दो कै दिपक बिष्ट हुन् ।
तर, इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्समा भने नेपाली तेक्वान्दो खाली हात फर्कने भएका छन् ।
एसियन गेम्स अन्तर्गत बिहिबार भएको अन्तिम दुई खेलाडीको प्रतिस्पर्धा सकिएसंगै नेपाल पदकबिहिन भएर स्वदेश फर्किने भएको हो ।
बिहिबार पुरुष फाइटतर्फ ६८ केजी मुनीको तौल समूहमा नेपालका ज्ञानेन्द्र हमालले प्रि- क्वाटरफाइनलमा स्थान बनाए पनि त्यसभन्दा अघि बढ्न सकेन ।
पहिलो चरणमा भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएर अन्तिम १६ मा पुगेका ज्ञानेन्द्र मलेसियाका खेलाडी रोजाली रोजाईमिसंग ३०–२ अंकले पराजित भए ।
फाइटकै महिलातर्फ ४९ केजी मुनीको तौल समूहमा अस्मिता खड्का ईरानकी खेलाडी नाहिद कियानीचान्देहसंग ४३–४ अंकले पराजित भईन् ।
एसियन गेम्समा तेक्वान्दोमा नेपालबाट १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । फाइटतर्फ सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ्ग, ज्ञानी चुनारा, संगीता बस्याल र निशा रावलले खेलेका थिए ।
यस्तै व्यक्तिगत पुम्से र टिममा कमल श्रेष्ठ र पार्वती गुरुङ, टिम पुम्सेमा सिना मादेन र निता गुरुङले प्रतिस्पर्धा गरेका थिए ।