काठमाडौं । आगलागीको कारण ताप्लेजुङ जिल्ला फुटबल संघको भौतिक पूर्वाधार, खेल सामाग्री र सम्पुर्ण कागजात जलेर नस्ट भएको छ ।
गत शुक्रबार फुङलिङ बजारमा लागेको भिषण आगलागीको कारण ताप्लेजुङ फुटबल संघको भौतिक पूर्वाधारसहित महत्वपूर्ण कागजात जलेर नस्ट भएको हो ।
ताप्लेजुङ फुटबल संघले सामाजिक संजालमार्फत कार्यालय र कागजात जलेर नस्ट भएको जानकारी गराएको छ ।
'यस कार्यलयको फुटबल खेल सामाग्रीहरु र अन्य भौतिक सामाग्रीहरु लगायत सम्पूर्ण कागजातहरु जलेर नस्ट भएका छन्,' बालकुमार सांवाको अध्यक्षतामा रहेको संघले आफ्नो फेसबुक पेजमा भनेको छ ।
यस्तै संघले घटना र क्षतिपूर्तिबारे एन्फालाई जानकारी गराएको समेत बताएको छ ।
'यस घटना र क्षति विवरणबारे जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई जानकारी गराईसकेको छ,' पेजमा भनिएको छ ।
एन्फासँग आबद्द ४५ वटा जिल्ला संघ रहेका छन् । जसमा ताप्लेजुङ पनि एक हो ।
यस्तै संघले शुभेच्छुकको सुझाव सल्लाह र सहयोगको अपेक्षा गर्दै एकजुट भएर संघलाई अझ व्यवस्थित र मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।