काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमा बरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई स्पष्टिकरण सोधेको छ ।
बैशाख २२ गते एन्फा दिवसको अवसरमा उपाध्यक्षको शुभकामनाविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेखेको भन्दै एन्फाले थापालाई स्पष्टिकरण सोधेको हो ।
सामाजिक सञ्जालमा उपाध्यक्षले दिएको शुभकामनामाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै सन्देश हालेको प्रति एन्फाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
एन्फा प्रवक्ता किरण राईले थापालाई कारबाही गरिएको पुष्टि गर्दै ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न स्पष्टिकरण सोधिएको खेलपाटीलाई बताएका छन् ।
थापाको कार्यले संघ र नेतृत्वकाे ईज्जतमा धक्का पुर्याउने, अनास्था फैलाउने, अपमानजनक घृतिक कुप्रचार कार्य भएको ठहर एन्फा बैठकले गरेको छ ।
एन्फाले पत्र प्राप्त गरेको मितिले बैशाख २६ गते ५ बजेभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
ललितपुर जिल्ला थापा यसअघि समेत एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिबिरुद्ध विरोध गर्दै आएका व्यक्ति हुन् ।
यसअघि थापा सहितका चार जिल्ला अध्यक्षले वर्तमान कार्यसमितिले एन्फाभित्र ब्यापक आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिएका थिए । तर अख्तियारले घटनाको छानविन गर्दै एन्फालाई सफाई दिएको थियो ।