काठमाडौं । विराट सांग्रिला क्लबले दुर्घटनामा परेर एउटा आँखा गुमाएकी महिला फुटबल खेलाडी समिक्षा थापा मगरलाई आर्थिक सहयोग गरेको छ ।
सांग्रिलाले विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराईरहेकी समिक्षालाई २५ हजार उपचार खर्च सहयोग गरेको हो ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
समिक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिईन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य समेत रहेका रुपेश अधिकारी अध्यक्ष रहेको क्लबले समिक्षालाई उपचार खर्च सहयोग गरेको क्लबका सचिव काशीराज पराजुलीले बताए ।
क्लबका सचिव पराजुली र कोषाध्यक्ष दिपेन्द्र मगरले सहयोग रकम हस्तान्तरण गरेका थिए । आर्थिक हस्तान्तरण कार्यक्रममा एन्फाका सहायक महासचिव वसन्त अर्यालको पनि उपस्थिति रहेको थियो ।