काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट प्रभावित खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत तथा सहयोग गर्नका लागि एक समिति गठन गरेको छ ।
भिडियो च्याटबाट बुधबार बसेको एन्फा पदाधिकारीको बैठकले राहत तथा सहयोग समन्यव समिति गठन गरेको हो ।
एन्फाले स्वास्थ्य समितिका संयोजक रहेका रत्न कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरेको हो । समितिको सदस्यमा उतम कुमार भण्डारी र रुपेश अधिकारी रहेका छन् ।
समितिले कोरोना प्रभावित जिल्ला संघ, ए बी र सी डिभिजन क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री तथा महिला संघहरुको सूची तयार गर्नेछ । जसको आधारमा एन्फाले सहयोग गर्ने जनाएको छ ।
एन्फाले समितिलाई पाँच दिन भित्र संकटग्रस्त खेलाडी, जिल्ला, क्लब, प्रशिक्षक तथा रेफ्रीहरुको पहिचान गरेर सचिवालयमा पेश गर्न भनेको छ ।
एन्फाले फुटबल खेलेर र खेलाएर जीविकोपार्जन गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मी कोरोनाको कारण प्रभावित भएको र जसको कारण नेपाली फुटबल बिकासमा समेत गम्भीर प्रभाव पारेको भन्दै सहयोगका लागि समिति गठन गरेको जनाएको छ ।
एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको समेत प्रतिवद्दता भएको कारण एन्फाले यस कदम अघि बढाएको जनाएको छ । फिफाले गत साता हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरिसकेको छ ।
कोरोनाको कारण अहिले नेपाली खेलकुद ठप्प रहेको छ । एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग समेत अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोनाबाट नेपालमा हालसम्म ५७ जना संक्रमित भएका छन् । विश्वभर २ लाख मानिसको मृत्यु भईसकेको छ ।