एजेन्सी । अखिल नेपाल फुटबल संघ एन्फाको ललितपुरस्थित फुटबल एकेडेमीलाई क्वारेन्टाईन बनाउने तयारी गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन ललितपुर महानगरले एन्फा एकेडेमीमा क्वारेन्टाईन बनाउने तयारी गरेको हो ।
एन्फाले यसअघिनै ललितपुर सहित देशभरका फुटबल एकेडेमीलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न अपिल गरेको थियो ।
सोही अनुसार ललितपुर महानगरले एन्फाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एकेडेमीलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न लागेको हो ।
'यसअघिनै एन्फाले आफ्ना एकेडेमीलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न अपिल गरिसकेको छ ।' एन्फाका एक पदाधिकारीले भने, 'सोही अनुसार ललितपुर महानगरले समेत एन्फा एकेडेमीलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने तयारी गरेको हो ।'
ललितपुर महानगरले बिहिबार साँझ एकेडेमीको स्थलगत निरिक्षण गरेको छ ।
महानगरले एन्फाले एकेडेमीको रुपमा सञ्चालन गर्दै आएको स्थानमा कोरोनाका सम्भावित व्यक्तिलाई राख्ने तयारी गरेको हो ।
महानगरले तत्काल निरिक्षण मात्र गरेको भएपनि केही दिनमा क्वारेन्टाईन बनाउने बिषयमा औपचारिक निर्णय हुन सक्ने बताईएको छ ।
एन्फाले उमेर समुहका खेलाडीलाई सातदोबाटोस्थित एकेडेमीमा राख्दै प्रशिक्षण दिदै आएको छ ।
एन्फाले उमेर समुहका खेलाडीलाई राख्दै आएको १४ वटा कोठालाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न दिने बताएको छ ।
महानगरले १४ देखि २८ जना व्यक्तिलाई सातदोबाटोस्थि एन्फा एकेडेमीलाई क्वारेन्टाईन बनाएर राख्न सक्नेछ ।
रौतहटस्थित महिला एकेडेमीलाई स्थानीय सरकारले अस्थायी क्वारेन्टाईनको रुपमा प्रयोग गर्दै आएको छ ।
ललितपुर र रौतहट सहित बुटबल र धरानमा एन्फाको फुटबल एकेडेमी रहेको छ ।
देशमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि ललितपुर महानगरले क्वारेन्टाईनको सम्भावित स्थानहरुको निरिक्षण गरिरहेको छ ।