काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारीबारे चासो देखाएको छ ।
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाईरस (कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा राखेपले खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे चासो देखाएको हो ।
राखेपका प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले राखेपअन्तर्गतका सम्पूर्ण विभागका विभागीय प्रमुख, निर्देशक तथा उप-निर्देशक, प्रशिक्षक, शाखा प्रमुख, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख तथा सम्पूर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुख एवं सम्पूर्ण कर्मचारी र खेलाडीलाई पत्र लेख्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी दिन माग आग्रह गरेका छन् ।
राखेपले खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे जानकारी माग गर्दै कुनै कठिनाई भए र केन्द्रको सहयोग चाहिए खबर गर्न समेत आह्वान गरेको छ ।
‘आ आफ्ना मातहतमा रहेका अफिसहरु, कर्मचारीहरु, खेलाडीहरु, तथा पदाधकारीहरु र निजका परिवारको हालको अवस्था के कस्तो छ ? बुझी विवरण पेश गर्नुहुन तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु, केन्द्रबाट केही गर्नुपरेमा त्यसको जानकारी गराउनुहुन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ,' साथै विभिन्न संघका पधाधिकारी ज्युहरुमा समेत आ-आफ्नो मातहतका खेलाडीको जानकारी लिनहुन अनुरोध गरिन्छ ।'
यस्तै लकडाउनको समयले गर्दा साह्रै दिक्क लाग्ने अवस्था आइसकेको भएपनि यस्तो अवस्थामा धैर्य र संयम भएर सम्भव भएसम्मका कार्यहरु गर्न र परिषदअन्तर्गत बन्ने आइसोलेसन कक्षहरुमा पूर्ण रूपले सहयोग गर्न समेत थापाले अनुरोध गरेका छन् ।
चीनबाट फैलिएको कोरोनाको कारण सरकारले चैत २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमित भेटिएको छ ।
कोरोनाकै कारण नेपालमा सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहेको छ । सरकारले आगामी बैशाख १८ गतेसम्म रंगशाला र खेलस्थल बन्द गर्ने निर्णय गरिसकेको छ ।