काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यसै वर्ष तय भएको टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित भएको छ ।
विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै आयोजक जापान ओलम्पिक कमिटि र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
ओलम्पिक खेलकुद अब सन् २०२१ मा आयोजना हुनेछ । ओलम्पिकको नयाँ मिति भने तय भएको छैन ।
तर, आगामी वर्ष आयोजना भएपछि टोकियो ओलम्पिकको नाम परिवर्तन नहुने भएको छ ।
आगामी वर्ष आयोजना हुने ओलम्पिकको नाम 'टोकियो ओलम्पिक गेम्स २०२०' नै रहने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकले ओलम्पिकको इतिहासमा पहिलोपटक सरेको ओलम्पिकको नाम नफेर्ने निर्णय गरेको हो । ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
बैठकमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठसहित सबै महादेशका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
बैठकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमम बाखले कोरोनाले विश्वव्यापी रुपमा पारेको प्रभावले सन २०२० को टोकियो ओलम्पिक सार्नु परेको विषय अवगत गराएका थिए ।
बैठकले टोकियो ओलम्पिकका लागि प्रदान गरिने खेलाडी छात्रवृती कार्यक्रमलाई सन् २०२१ सम्म निरन्तरता दिने निर्णय समेत गरेको छ ।
बैठकले ओलम्पिकमा सहभागिताका लागि हुने छनौट खेलहरुको नयाँ मिति तोकिने र ओलम्पिकको अर्को मिति तय गर्नका लागि सम्बन्धित सबैसँग छलफल गरि अघि बढ्ने निर्णय समेत गरेको छ ।
यस्तै ओलम्पिक सार्न गरेको निर्णयलाई अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटी र जि–२० का देशका नेतृत्वले यसलाई स्वागत र समर्थन जनाएको बैठकमा जानकारी गराईएको थियो ।