बिरगंज । टिभिएस बिरगंज म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्र भाटले जितेका छन् ।
बिरगंजमा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २१ मिनेट ०७.५३ सेकेण्डमा पुरा गर्दै खगेन्द्रले उपाधि जितेका हुन् ।
आर्मीकै राजन रोक्काले निर्धारित दुरी २ घण्टा २७ मिनेट ३९.९५ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । यस्तै २ घण्टा २८ मिनेट ३५.८६ सेकेण्डको समयसहित आर्मीकै हरिकुमार रिमाल तेस्रो भए ।
उपाधिसँगै खगेन्द्रले टिभिएस स्कुटरसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे । राजनले १ लाख ५० हजार र हरिले १ लाख रुपैयाँ प्राप्त गरे ।
पुरुष हाफ म्याराथनको उपाधि आर्मीकै गजेन्द्र राईले जिते । उनले १ घण्टा ४९ सेकेण्डमा दौड पुरा गरे । १ घण्टा ९ मिनेट ५६ सेकेण्डको समय निकालेका दिपक अधिकारी दोस्रो र रामजी बस्नेत १ घण्टा १० मिनेट ३५ सेकेण्डको समयसहित तेस्रो भए ।
महिलातर्फ राजपुरा पछाईले १ घण्टा १९ मिनेट ४७ सेकेण्डको समयसहित उपाधि जितिन् । फलुमती राना १ घण्टा २४ मिनेट ३० सेकेण्डको समयसहित दोस्रो र विन्द्रा श्रेष्ठ १ घण्टा २८ मिनेट १६ सेकेण्डको समयसहित तेस्रो भइन् ।
हाफ म्याराथनको महिला पुरुष दुवैको विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
महिला १० किमी विभागीय दौडमा आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने पहिलो भईन । आर्मीकै सरस्वती भट्टराई दोस्रो र नेपाल पुलिस क्लबलकी विर्सना कुमाल तेस्रो भइन् ।
महिला खुला १० किमी दौडमा सकुन्तला ठगुन्न पहिलो, मन्जु राउत दोस्रो र खिला थापा तेस्रो भइन् ।
पुरुषतर्फको १० किमी विभागीय दौडमा आर्मीका कल्याण बानिया पहिलो, एपीएफका गणेश ठकुरी दोस्रो र टंक कार्की तेस्रो भए । पुरुष १० किमी खुलामा सागर श्रेष्ठ पहिलो, दिनेश बोगटी दोस्रो र प्रिन्सकुमार गुप्ता तेस्रो भए ।
१० किमीको विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतले पुरस्कृत गरे ।