काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।
संयोग ब्वाइज तथा अन्जु गर्ल्समा च्याम्पियन बनेका हुन् ।
नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिश गोपाल श्रेष्ठ तेश्रो भए ।
हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्सको प्रतिस्पर्धात्मक फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन् । प्रिमियरकी यसश्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रुपमा तेश्रो भए ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्षद्वय युवराज शर्मा र नवराज पाण्डे, आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सिंगल्स स्पर्धा समावेश टेबलटेनिसको ब्वाइजमा ३५ तथा गल्र्समा १६ खेलाडी सहभागी थिए ।