काठमाडौं । नेपाल एथलेटिक्स संघको नयाँ कार्यसमितिको निर्वाचन तीन साता पछि सरेको छ । नेपाल एथलेटिक्स संघले मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन भदौ तेस्रो सातासम्मको लागि स्थगित भएको जनाएको छ ।
आज (साउन २९) गते हुने भनिएको संघको नयाँ कार्यसमितिको लागि निर्वाचन अब भदौ २२ गते हुने भएको छ । यसअघि गत जेठ २३ गते बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहामा गर्ने निर्णय गरेको थियो ।
तर, एसियन गेम्सको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतिनिधि पठाउन ढिला गर्दा निर्वाचन रोक्नु परेको संघले जनाएको छ । संघले परिषदसंगको छलफलपछि मिति सारेको समेत बताएको छ ।
'सबै प्रक्रिया पुरा भएको थियो । गत जेठमा आज नयाँ निर्वाचन गर्ने तयारी गरेका थियौ । राखेपलाई हामीले पत्र पठाएका थियौ,' संघका अध्यक्ष राजिब बिक्रम शाहले भने,'तर, राखेपले हामीलाई निर्वाचन कमिटि उपलब्ध गराएन । हामी राखेपसंग कुरा गर्दा एसियन गेम्सको कारण व्यस्त हुँदा ढिलाई भयो । एसियन गेम्सपछि गर्नु भन्ने कुरा आयो । त्यसैले निर्वाचन सारेका हौ ।'
यस्तै अध्यक्ष शाहले राखेपले स्विकृति दिए संघको निर्वाचन भोली गर्न समेत तयार रहेको बताए । यस्तै उनले भदै २२ भन्दा पछि निर्वाचन नसर्ने बताए ।