काठमाडौं । भारतका अमन दहिया र चीनकी झिन्तोङ झाव काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा शुक्रबार पहिलो भएका छन् ।
सिंगल्सको ब्वाइजमा अमन र गर्ल्समा झिन्तोङ पहिलो भएका हुन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा अमनले आफ्नै राष्ट्रका कृषन हुडालाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । गर्ल्स फाइनलमा झिन्तोङले भारतकी रिया उबोभेजालाई ६–४ र ६–१ को सीधा सेटमा हराइन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज डबल्स फाइनलमा भारतका आदित्य वर्धान रोय चौधरी र ध्रुभ ताङग्रीको जोडीले मलेसियाका क्रिस्टियन अन्ड्रे सेङ लिउ र भियतनामका क्वोक भोको जोडीलाई ६–२ र ४–६ (१०–४) ले पाखा लगाउदै पहिलो स्थान हात पारे ।
सोही स्पर्धाको गर्ल्स फाइनलमा अस्ट्रियाकी इनेस फल्टिङगर र चीनकी झिन्तोङको जोडीले सिंगापुरकी डिने छु र भारतकी रियाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
विजेतालाई आयोजक टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।