काठमाडौं । नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रदीप रोका तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार श्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ को समान नतिजामा पराजित गरे ।
पुरुष सिंगल्समै सीसीआरसीका आरिश महर्जनले नेपाल आर्मीका बोधित केसीलाई ४–३, एपीएफका अमरलाल मल्लले ललितपुरका रितिज जोशीलाई ४–०, प्रहरीका राकेश महर्जनले आर्मीका कृष्ण थापा मगरलाई ४–२, भारतका आदर्श ओम क्षेत्रीले आर्मीका नारायण घिमिरेलाई ४–० ले हराए ।
यस्तै काठमाडौंका चन्दन शाहीले बाँकेका टेन्डी शेर्पालाई ४–२ र प्रहरीका विनेश खनियाँले एपीएफका विलोश श्रेष्ठलाई ४–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ललितपुर जिल्ला टेनिस क्लबको आयोजना भइरहेको प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४–० तथा प्रहरीकी सोनु थापा मगरले विजेश्वरीकी मारिया थापा मगरलाई ४–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।
यस्तै एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवाललाई ४–०, आर्मीकी रविना महर्जनले विजेश्वरीकी अनुष्का प्रसाईंलाई ४–१, एपीएफकी अनिता महर्जनले एपीएफकै इभाना थापा मगरलाई ४–३, प्रहरीकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–१, भारतकी ममता प्रभुले विजेश्वरीकी सुस्मिता खड्कालाई ४–० र आर्मीकी दीक्षा तामाङले प्राइमकी निकिता कस्तीलाई ४–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
शुक्रबार क्वाटरफाइनल र सेमिफाइनल खेल हुनेछ ।