काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन् ।
साउदी अरेबियाको जेद्धाहमा सम्पन्न स्वाफको पहिलो साधारणसभाबाट अध्यक्ष शेर्पा सदस्यमा निर्वाचित भएका हुन् । साधारणसभाले अध्यक्षमा डा एडेल बिन मोहमद, वरिष्ठ उपाध्यक्षमा मोहमेद शावेद, उपाध्यक्षमा सुबर्त दत्त र अब्दुलाह अल जुनेबीलाई चयन गरेको छ ।
यस्तै सदस्यमा शेर्पासहित महफुजा अख्तर, अनुरा डी डी सिल्भा, अल्शिख अली खालिफा र फाहद अल हमलान रहेका छन् । एक महिला सदस्य भने खाली रहेको छ ।
साधारणसभाले आफ्नो विधान पारित गर्दै नयाँ कार्यसमितिको निर्वाचन गरेको हो । विधान पारित भएसंगै अब विश्व फुटबल महासंघ फिफाले स्वाफलाई मान्यता दिनेछ ।
स्वाफको साधारणसभामा एन्फाबाट तीन प्रतिनिधि गएका थिए । एन्फा अध्यक्ष शेर्पासहित महासचिब इन्द्रमान तुलाधर र उपाध्याक्ष विरबहादुर खड्काले सहभागिता जनाएका थिए ।
साउथ वेस्ट एसिया राष्ट्रको फुटबल विकासको लागि साउथ वेस्ट एसियन फुटबल फेडेरेसनको गठन भएको हो । स्वाफमा १४ देश रहेका छन् । जसमा नेपाल सहित भारत, पाकिस्तान, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, बहराइन, साउदी अरब, कुबेत, इराक, यमन, युएई र ओमान रहेका छन् ।
नेपालले यसअघि महादेशिय स्तरमा एसियन फुटबल फेडेरेसन (एएफसी) र साउथ एसियन फुटबल फुटलब (साफ) को सदस्य रहेको थियो ।