काठमाडौं । चन्द्रागिरी नगरपालिकाले महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।
निकै रोमान्चक भएको फाइनलमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै चन्द्रागिरीले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा चन्द्रागिरीले ललितपुरमाथि २३-२५, २५-१९, २५-१८, २१-२५ र १५-९ को जित निकाल्यो ।
उपाधिसँगै चन्द्रागिरीले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले १ लाखमा चित्त बुझायो ।
तेस्रो भएको गोकर्णेश्वरले ५० हजार प्राप्त गर्यो ।
ललितपुर महानगरपालिकाले आफ्नो १ सय १ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चन्द्रागिरीकी झरना श्रेष्ठ चुनिइन् । उनले १० हजार प्राप्त गरिन् ।
यस्तै उत्कृष्ट स्पाइकर ललितपुरकी शर्मिला नेपाली, ब्लकर ललितपुरकी प्रवित्रा श्रीपाली, डिफेन्डर ललितपुरकी विमला सुनुवार चुनिइन् ।
उत्कृष्ट सर्भर चन्द्रागिरीकी पनामिका राई, सेटर चन्द्रागिरीकै प्रतिक्षा गुरुङ र प्रशिक्षक चन्द्रागिरीका कुमार राई चुनिए ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गरे ।