काठमाडौं । आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब तेस्रो संस्करणको न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गरेको हो ।
न्यु डायमण्डले ढोरपाटनलाई २५–५,२५–१२ र २५–११ को सेटमा पराजित गर्यो ।
यस्तै पुलिसले पनि ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो । अब न्यु डायमण्ड र पुलिसबीचको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
बिहिबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो । समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो ।
आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।