काठमाडौं । महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको फाइनलमा आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिका भिड्ने भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो ।
ललितपुरले कमलामाईलाई २५-१५, २५-१५ र २५-८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो ।
चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३-१ को सेटमा पराजित गरेको थियो ।
उपाधि नजिक पुग्ने क्रममा चौताराले महालक्ष्मीलाई २५-१४, ३५-३३, १८-२५ र २५-१७ को सेटमा पराजित गर्यो ।
महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् ।
महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।