काठमाडौं । महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने भएका छन् ।
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चन्द्रागिरी फाइनल पुगेको हो ।
उपाधि नजिक पुग्ने क्रममा चन्द्रागिरीले विदुरलाई २५-१४, २५-१५ र २५-९ को सेटमा पराजित गर्यो ।
अब चन्द्रागिरीले उपाधिका लागि आयोजक ललितपुर महानगरपालिकासँग खेल्नेछ ।
ललितपुरले दोस्रो सेमिफाइनलमा गोकर्णेश्वरलाई २५-१३, २५-१३ र २५-१६ ले पराजित गर्दै चन्द्रागिरीसँगको फाइनल भेट पक्का गरेको हो ।
महिलातर्फ गोकर्णेश्वर तेस्रो भयो । बुधबार नै भएको खेलमा गोकर्णेश्वरले विदुरलाई २३-२५, २५-१५,२५-१० र २५-१७ ले पाखा लगायो ।
पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ ।
पुरुषतर्फको सेमिफाइनलमा चौताराले महालक्ष्मीसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा ललितपुरले कमलामाईसँग खेल्नेछ ।
बुधबार भएको क्वाटरफाइनलमा चौताराले बनेपालाई २५-१९, २५-१७ र २५-२१ ले पराजित गर्यो ।
महालक्ष्मीले गोकर्णेश्वरलाई २२-२५, २३-२५,२५-१९,२५-२१ र १५-१२ ले पाखा लगायो ।
ललितपुरले कागेश्वरीलाई २२-२५, २५-२०, २५-१६ र २५-१३ ले पराजित गर्यो । त्यस्तै कमलामाईले पनौतीलाई २५-१८, २५-२० र २६-२४ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।
ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।