काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार पोखराको टप्स माबिलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
सुखद सुरुवात गर्ने क्रममा एपीएफले टप्समाथि २५-११, २५-१० र २५-६ ले पराजित गर्यो ।
टप्सविरुद्धको खेलसँगै निरुता ठगुन्नाले एपीएफ क्लबमा डेब्यु गरेकी छिन् ।
राष्ट्रिय टोलीका ओपन स्पाइकर समेत रहेकी निरुताले यस अघि घरेलु प्रतियोगिता त्रिभुवन आर्मीबाट खेल्ने गर्थिन् ।
तर, सशत्र प्रहरीको सिपाही पदमा जागिरे भएसँगै निरुता एपीएफ क्लबमा आबद्द भएकी हुन् ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पारामाउन्ट इन्ग्लिश स्कुललाई २५-६, २५-१८ र २५-९ ले पराजित गर्यो ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीचको खेल भने वर्षाको कारण रद्द भएको छ ।
खेलमा न्यु डाइमण्डले २५-१८, २५-२२ र १५-२० ले अग्रता बनाईरहदा खेल वर्षाको कारण विथोलिएको हो । अब उक्त खेल बिहिबार पुनः हुनेछ ।
यस्तै वर्षाको कारण एपीएफ र पारामाउन्टबीचको अन्तिम खेल समेत स्थगित भएको छ ।
प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् । व्यक्तिगत विधातर्फ स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर,डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ प्रदान गरिनेछ ।