काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष भलिबल क्लब च्याम्पियनसिप माघको पहिलो साताबाट सुरु हुने भएको छ ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टिमको सहभागिता रहने छ ।
यस संस्करणमा पुरुषतर्फ साविक विजेता आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, नयाँ बजार भलिबल क्लब, जावलाखेल भलिबल क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, काभ्रे जिल्ला भलिबल संघ, गण्डकी प्रदेश, आरजी भलिबल ग्रुप र पार्वती युवा क्लबको सहभागिता रहने छ ।
महिलातर्फ नेपाल पुलिस, एपीएफ, न्यु डाईमन्ड, त्रिभुवन आर्मी, जावलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब, चितवन टाइग्रेस र गण्डकी प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
प्रतियोगिताको महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।
प्रतियोगिताका लागि हरेक क्लबले ३ विदेशी खेलाडी राख्न पाउने छन् ।
गत संकरणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।
यस प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ ६ टिम राष्ट्रिय भलिबल लिगका लागि छनोट हुनेछन् ।
प्रतियोगितालाई यस वर्ष पनि राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहनेछ ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष निर्मल हरी अधिकारीले खेलाडीलाई सहयोग गर्न पाउँदा बैंकले गौरब महसुस गरेको बताए ।
यस्तै संघका अध्यक्ष मनोरन्जन शर्माले बैंकको सहयोगकै कारण खेलाडी पदक जित्न सफल भईरहेको बताए ।