काठमाडौं । नेपाल आर्मीका रुबिना खड्का र चाउची डंगोलले आईटिएफ तेक्वान्दोका बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । रुबिना र चाउची नेपाल इन्टरनेसनल तेक्वान्दो (आईटिएफ) को २१ औं स्थापना दिवसका अवसरमा आयोजित बर्ष खेलाडी अवार्डमा उत्कृष्ट घोषित भएका हुन् ।
नेपालमा सम्पन्न ८ राष्ट्रको सहभागिता रहेको साउथ एशियन तथा आमन्त्रीत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुबिनाले ३ स्वर्ण जितेकी थिईन भने चाउचीले २ स्वर्ण जितेका थिए । यस्तै दुवैले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औ सिनियर तथा ९ औं राष्ट्रिय आईटिएफ प्रतियोगितामा स्वर्ण जितेका थिए ।
त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि भक्तपुरका आशिष कार्कीले जिते । साउथ एशियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । काभ्रे जिल्ला आईटिएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पार्यो । पुरस्कृत सबैले नगद ५ हजार र सम्मान पत्र प्राप्त गरे ।
नेपाल आईटिएफ संघमा योगदान दिने ब्यत्तित्वहरुलाई पनि संघले सम्मान गरेको छ । नेपाल आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा,नेपाल मार्शल आर्टस् गेम्स कमिटिका अध्यक्ष एवंम् नेपाल आईटिएफका उपाध्यक्ष कल्पदिप राई सम्मानित भएका छन् । त्यस्तै दक्षिण एशियाली आईटिएफ महासंघ अनुशासन कमिटिको अध्यक्षमा चयन भएको मा नेपाल आईटिएफकी महासचिव अन्जु राउतलाई पनि संघले सम्मान गरेको छ ।
उनीहरुलाई पूर्व उपप्रधान मन्त्री माननिय टोपबहादुर रायमाझी,राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी,अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवकुमार कोईराला,नेपाल आईटिएफका अध्यक्ष अन्जन धमला लगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरे ।