काठमाडौं । तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट सुरु हुने प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुनेछ ।
यस संकरणमा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स माबि पोखरा, पारामाउन्ट इन्ग्लिश स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो र दोस्रो दिन समान ४/४ खेल हुनेछ । तेस्रो दिन सेमिफाइनल र अन्तिम दिन फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार पाएका थिए ।
यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् । व्यक्तिगत विधातर्फ स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर,डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ प्रदान गरिनेछ ।
प्रतियोगिताको लागि होङ्गान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ । आयोजक क्लब र होङ्गान्जीबीच आइतबार नै एक वर्षे मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि होङ्गान्जीका नेपालका लागि कन्ट्री डिरेक्टर सोनाम वान्ग्दी भुटियाले प्रतियोगिताका लागि यसअघि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग कायम रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रायोजनसँगै होङ्गान्जीले पहिलो र दोस्रो हुने टिमको पुरस्कार प्रायोजन गर्नेछ । यस्तै मुक्तिनाथ विकास बैंकले तेस्रो र निलगिरी युथ क्लबले चौंथो पुरस्कार प्रायोजन गरेको छ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले पाँच थान बल र एक सेट नेट सहयोग गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दले खेल सामग्री प्रतियोगिता संयोजक कुमार राईलाई हस्तान्तरण गरे ।