काठमाडौं । नेपाली पुरुष भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ रहेको टिम गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको पुरुष भलिबल लिगमा जित निकालेको छ ।
मालेमा शुक्रबार राति भएको खेलमा गुडिसले पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।
सुरुवाती दुई सेट गुमाएको गुडिसले त्यसपछिको लगातार तीन सेट जित्दै पुनरागमन जित निकालेको हो ।
रोमान्चक खेलमा पहिलो र दोस्रो सेट पुलिसले २५-२२ र २५-१८ ले जितेको थियो । तर, त्यसपछिको सेट गुडिसले २७-२५, २५-२३ र १५-१३ ले जित्दै खेल आफ्नो बनायो ।
यस्तै अर्का नेपाली खेलाडी विकास गुरुङको टिम सिटी स्पोर्ट्स भने आर्मीसँग ३-० को सेटमा पराजित भएको छ ।
आर्मीले सिटीमाथि २५-१७, २५-१६ र २५-१० को सोझो सेटमा जित निकाल्यो ।