पोखरा । १४ औं संकरणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा फागुन ३ गते आयोजना हुने भएको छ ।
आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ३ गते आयोजना हुने जनाएको हो ।
सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने म्याराथनमा ७ हजार खेलाडीले सहभागिता जनाउने समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताको यस संकरणमा फुल म्याराथन, १० किमीको महिला/पुरुष दौड,५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौड समावेश गरिएको छ ।
यस संकरणमा विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको मंचका अध्यक्ष तेज बहादुर गुरुङले जानकारी गराए ।
फुल म्याराथनको विजेताले २ लाख प्राप्त गर्दा दोस्रोलाई १ लाख र तेस्रोले ७५ हजार पाउने छन् । चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
१० किलोमिटर तर्फको दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ ।
मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइनबाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको अनलाइन र मोवाइल एप्सबाटखेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्ने छन् ।