काठमाडौं । लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघको अध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित भएका छन् । संघले आइतबार साधारणसभा गर्दै तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको सह अध्यक्षमा मकवानपुरका जनक बर्तौला चुनिएका छन् । यस्तै तीन उपाध्यक्षमा काठमाडौंका प्रणिलध्वज कार्की, नुवाकोटका दीपक लामा र सुर्खेतका हरि थापा छन् । सोलुखुम्बुका लाक्पा छिरिङ लामा महासचिव र सचिवमा काठमाडौंका राजेन्द्रकुमार श्रेष्ठ चयन भए ।
त्यसैगरी रामेछापका लानम लामा कोषाध्यक्ष, रसुवाका रितु म्याम्दान सह कोषाध्यक्ष चयन हुँदा सदस्यमा लमजुङका कृष्ण लामा, काभ्रेपलाञ्चोकका नारायण गिरी, धनकुटाका भक्त थापा, काठमाडौंकी रति लामा, सिन्धुपाल्चोकका सुन्दर लामा, मुख्य प्रशिक्षक अमरकुमार थिङ र बाराका निर्मल लामा रहेका छन् ।
निर्वाचित नयाँ समिति सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११ सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ।
साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए ।