काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् ।
उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । बेदले २ घण्टा ३४ मिनेट २० सेकेण्डको समय निकाले । आर्मीकै ज्ञान प्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए ।
प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरे ।
म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्भडोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो ।