काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशब कुमार बिष्टले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेपछि सदस्यसचिब बिष्टले नेपाली टोलीलाई बधाई दिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग दुई खेलको डेब्यु सिरिज खेलेको थियो । जसमा नेपालले दोस्रो खेलमा शुक्रबार नेदरल्याण्डलाई १ रनले हराएको थियो । त्यसअघि बुधबार भएको खेलमा नेपाल ५५ रनले पराजित भएको थियो ।
'नेदरल्याण्डमा भएको दुई दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध जित हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई व्यक्तिगत र राष्ट्रिय खेलकुद परिषदको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु,' सदस्यसचिब बिष्टले प्रेस विज्ञप्तिबाट भनेका छन् ।
यस्तै सदस्यसचिब बिष्टले आइसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाएपछिको दोस्रो खेलमा जित निकाल्नु सारा नेपाली र सिंगो राष्ट्रको गौरबको बिषय भएको बताएका छन् । यो सफलताको लागि क्रिकेट टिमका प्रत्येक सदस्य धन्यवादका पत्र रहेको उल्लेख गर्दै सदस्यसचिब बिष्टले भनेका छन्, 'यो सफलतासँगै हाम्रा खेलाडीले खेलकुद क्षेत्र र राष्ट्रको गौरव बढाउने सशक्त माध्यम हो भन्ने कुरा फेरि एकपटक प्रमाणित गरेर देखाएका छन् ।'
आइसीसीबाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि यो बधाईको उत्तिकै हकदार सदस्यसचिब बिष्टले बताए ।
यस्तै सदस्यसचिब बिष्टले खेलाडीले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई गुम्न नदिन र नेपाली क्रिकेटलाई यो भन्दा पनि अझ ठूला उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढाउन परिषद्ले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।