काठमाडौं । सरकारले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै सागका पदकधारीलाई नगद पुरस्कारको घोषणा गरेका हुन् ।
१ भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई भने ११ लाखको दरले पुरस्कृत गरिने छ । जस अन्तर्गत एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाडी गौरिका सिंहसहित ४ खेलाडीले ११ लाखको दरले नगद पाउने छन् ।
टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाखले सम्मान गरिनेछ ।
यस्तै विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने निर्णय गरेको छ । प्रशिक्षकलाई पनि ५ लाख प्रदान गरिने छ ।
मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । त्यस्तै नेपालले ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।