काठमाडौं । पत्रकार सुमन चापागाईमाथि प्रहरीले गरेको निर्घात कुटपिटको नेपाल खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।
सागको समापन हेर्न रंगशाला आएका दर्शकमाथि प्रहरीले गरेको लाठिचार्जको दृष्य कैद गर्ने क्रममा चापागाईलाई कुटिएको हो ।
घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चका सदस्यले रंगशाला प्यारापिटमै पुगेर घटनाको विरोध गरेका थिए ।
उनीहरुले कालो ब्यानर सहित प्रहरी ज्यादती अन्त्य गर भन्दै नारा लगाएका थिए ।
घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतको माग अघि सारेको छ । मञ्चले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ ।
समाचार संकलनको क्रममा ड्युटीमा खटिएका डीएसपी सन्तोष सिंह राठोर सहितको टोलीले पत्रकार चापागाईलाई रंगशाला परिसर भित्र छिरेर कुटपिट गरेका थियो ।
प्रहरीको कुटपिटबाट घाईते भएका चापागाईको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा उपचार भईरहेको छ । चापागाईको कान र पेटमा चोट लागेको छ ।
प्रहरीले टिकटको बिषयलाई लिएर दशरथ रंगशाला पुगेका सर्वसाधारणमाथि कुटपिट गरेको थियो ।