पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले अन्तिम दिन एक रजत र एक कास्य जितेको छ ।
पोखरामा भएको भारोत्तोलनतर्फ नेपालका आइतबार नेपालका सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन् । सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् ।
सागरले राष्टिय रेकर्ड कायम गर्दै स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए । प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।
आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो । १०९ किलो तथा १०९ प्लस किलो तौल समूहमा स्वर्ण जित्ने पाकिस्तान खेलाडी बुट सहोदर दाजुभाइ हुन् । १०९ प्लसमा श्रीलंकन खेलाडी डब्लु पी यु चरुकाले रजत जिते ।
उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन् । पुकारको स्न्याच विधामा राष्टिय रेकर्ड हो ।
अन्तिम दिनको खेलसँगै साग इतिहासमा भारोत्तोलनले नेपालले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । नेपालले कुल २० इभेन्ट अन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो ।
नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जित्न सफल भएको हो । शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो ।
नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन् ।