काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा आइतबार १० मिटर एयर पेस्तोल पुरुषमा भारतका श्रवन कुमारले स्वर्ण पदक जिते । उनले २४१.५ अंकका साथ स्वर्ण पदक जित्दा पाकिस्तानका गुल्फान जोसेफले २३७.२ अंक जोड्दै रजत पदकमा चित्त बुझाए ।
भारतका रविन्दर सिंहले कास्य पदक हात पारे । उनले २१६.६ अंक बनाएका थिए ।
यस्तै १० मिटर एयर पेस्तोल पुरुषको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका सुमित रमन, रविन्दर सिंह, श्रवण कुमारको समूहले १७१३ अंकका साथ स्वर्ण पदक जितेको हो । बंगलादेशले रजत र पाकिस्तानले कास्य जितेको छ ।
योसँगै २० मध्ये १७ वटा स्वर्ण पदक भारतले जितेको छ भने २ वटा स्वर्ण पदक पाकिस्तानले हात पारेको छ । नेपाल अहिलेसम्म सुटिङमा पदक जित्न सकेको छैन ।
सुटिङको एउटा स्वर्ण पदकका लागि सोमबार प्रतिस्पर्धा हुने छ ।