काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लागेको छ ।
एथ्लेटिक्समा प्रतिस्पर्धा गर्न काठमाडौं आएका उनीहरुमा डेंगु लागेको भेटिएको हो ।
बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ ।
जसमध्य दुई जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अरु खेलाडीलाई केही दिनमा डिस्चार्ज गरिने सागको स्वास्थ्य समितिका संयोजक अजय राणाले खेलपाटीलाई जानकारी दिएका छन् ।
श्रीलंकाले बिरामी भएर उपचार गराईरहेका बिरामीको विवरण गोप्य राखेको छ ।
‘श्रीलंकाका ६ खेलाडी नेपाल आएको भोलीपल्टै डेंगुको संक्रमण देखिएको थियो । खेलाडीमा डेंगु लागेको भेटिएको छ । चाँडै सबै खेलाडीलाई डिस्चार्ज गरिनेछ ।’ उनले भने ।
‘हस्पिटलले दुई खेलाडी डिस्चार्ज गरेपनि उनीहरु अहिल्यै खेल्न सक्ने अवस्थामा छैनन् । अझै कमजोर छन् ।’ राणाले भने ।
उपचार खर्च ब्यहोर्न माग
आईतबार बिहान सात देशका सेभ द मिसनको बैठक बसेको थियो । सो बैठकमा श्रीलंकाली प्रतिनिधिले आफ्ना ६ जना खेलाडी डेंगु लागेर हस्पिटलमा उपचार गराएको जानकारी गराएको थियो ।
श्रीलंकाले आफ्ना खेलाडीको उपचार खर्च ब्यहोर्न नेपाल समक्ष माग समेत गरेको छ ।
बैठकमा नेपालले सामान्य उपचार खर्च आयोजकले ब्यहोर्ने भएपछि ठुला खर्च सम्बन्धित देशलेनै गर्नुपर्ने बताएको थियो । उपचार खर्च गरेर अर्को बैठकमा यसबारे निर्णय गर्ने जानकारी नेपालले गराएको थियो ।